हाम्रो वारेमा

About Us

परिचय

‘सेवा नै धर्म हो र धर्म नै सेवा हो’ भन्ने भावनाबाट प्रेरित, बुद्ध र गान्धीका अनुयायी शान्तिपूर्ण भावले भरिपूर्ण डा.डिल्लीरमण रेग्मी आफैमा विद्वान्, वरिष्ठ राजनीतिज्ञ एवम् इतिहासकारका रुपमा नेपालमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा नै सुपरिचित व्यक्ति हुनुहुन्थ्यो । उहाँले आफ्नो अध्ययन र अनुसन्धानका लागि धेरै पुस्तक, पत्रपत्रिका सङ्कलन गर्नुका साथै, पुरातात्विक वस्तुहरु (देवीदेवताका ढुंगा तथा धातुका मूर्ति, दुर्लभ तस्बीर) को समेत सङ्कलन गर्नुभएको थियो । यिनै सङ्कलित सामग्रीलाई २०३७ साल (सन् १९८१) मा डा. डिल्लीरमण–कल्याणी रेग्मी पुस्तकालय, संग्रहालय तथा अनुसन्धान केन्द्रको नामबाट तत्कालिन श्री ५ वीरेन्द्रको वाहुलीबाट उद्घाटन गराउनु भएको थियो । त्यसपछि नेपाली जनताले अध्ययन, अनुसन्धान गर्न पाउने गरी शिक्षा मन्त्रालयलाई आफ्नो शेषपछिको बकसपत्र गरिदिनुभएको थियो ।

वि.सं. २०५८ भदौं १४ गते(सन् २००१ अगष्ट ३०)मा उहाँको देहवसान भयो । त्यसपश्चात् नेपाल सरकार, शिक्षा मन्त्रालयद्वारा ‘डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समिति गठन (आदेश) २०६०’ जारी गरी सञ्चालन व्यवस्थापनका लागि सात सदस्यीय समितिको व्यवस्था गरि र डा .रेग्मीको जन्मजयन्ती एवम् शान्ति दिवसको अवसर पारी २०६१ साल पुष ३ गतेदेखि यस पुस्तकालय तथा सङ्ग्रहालय सर्वसाधारणका लागि खुल्ला गरिएको हो ।

उद्देश्यहरु

  • डा. रेग्मीको जीवनदर्शन एवम् सिद्धान्तको प्रचार–प्रसार गर्ने ।
  • प्रत्येक दुई–दुई वर्षमा ‘डा. डिल्लीरमण रेग्मी शान्ति पुरस्कार’बाट शान्ति र अहिंसाको क्षेत्रमा योगदान पुर्याउने स्वदेशी तथा विदेशी व्यक्ति तथा संस्थालाई सम्मान गर्ने ।
  • शान्ति, अहिंसा, मानवीय मूल्य, मान्यता र राष्ट्रका जल्दाबल्दा विषयसँग सम्बन्धित गोष्ठी, कार्यशाला, अन्र्तक्रियालगायत विविध कार्यक्रम गर्ने ।
  • स्वदेशी तथा विदेशी पुस्तकालयहरुसँग भगिनी सम्बन्ध स्थापना गरी पुस्तकालय सेवा प्रदान गर्ने ।

अन्य उद्देश्यहरू

  • सर्वसाधारणलाई पुस्तकालय सेवा उपलब्ध गराउनु ।
  • देश तथा विदेशका अन्य पुस्तकालयहरूसँग सौहार्दपूर्ण सम्बन्ध कायम गर्नु ।
  • पुस्तकालयलाई समृद्ध बनाउन थप पुस्तक तथा प्रकाशन सङ्कलन गर्नु ।
  • वर्तमान तथा भावी पुस्ताका लागि पुस्तकालय तथा सङग्र्रहालयको संरक्षण गर्नु ।
  • देशमा सार्वजनिक पुस्तकालयहरूको विकासमा सहयोग पु¥याउनु ।
  • साक्षरता अभिवृद्धिमा सरकारलाई सहयोग गर्नु ।
  • बालबालिकामा पठन संस्कृतिको विकास गर्नु ।

सेवा र सुविधा

पठन सेवा

स्वदेशी तथा विदेशी जो कोहीले यस पुस्तकालय भित्र बसी निःशुल्क अध्ययन एवम् अनुसन्धान गर्न पाउने सुविधा उपलब्ध गराइएको छ ।

इन्टरनेट / वाई–फाइ

पाठकहरुलाई पुस्तकालय परिसरभित्र निःशुल्क इन्टरनेट/ वाई–फाई सुविधा उपलब्ध गराइएको छ । आम पाठकले आफ्नो ल्यापटप, मोबाइल आदिमा पनि सो सुविधाको निःशुल्क प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ ।

फोटोकपी

कुनै पनि पाठकले पाठ्यसामग्रीको केही अंश फोटोकपी गर्नुपरेमा सोको फोटोकपी गर्न पाउने व्यवस्था गरिएको छ ।

पत्रपत्रिका

पाठकहरुलाई पुस्तकालय परिसरभित्र दैनिक, साप्ताहिक, पाक्षिक, मासिकलगायत विभिन्न पत्रपत्रिकाहरु शान्त वातावरणमा निःशुल्क पढ्ने व्यवस्था छ ।

सङ्कलन

यस पुस्तकालयमा विभिन्न विषयमा गरी जम्मा ४२ हजारभन्दा बढी पुस्तक, पत्रपत्रिकाको सङ्कलन रहेको छ । यीमध्ये विशेषगरी राजनीति, इतिहास र संस्कृति विषयका पुस्तकहरुको राम्रो सङ्कलन रहेको छ । केही दुर्लभ हस्तलिखित ग्रन्थहरु पनि सुरक्षित गरी राखिएको छ । विभिन्न ऐतिहासिक महत्वका तस्वीरहरुलाई पुस्तकालय भवनको माथिल्लो तलामा प्रदर्शन गरी राखिएको छ ।

धरणीधर सङ्कलन

यस सङ्कलन अन्तर्गत विशिष्ट साहित्यकार पं धरणीधर कोइरालाले प्रदान गरेका पाठ्यसामग्रीको छुट्टै सङ्कलन रहेको छ ।

 बाल पुस्तकालय शाखा

बालबालिकाका लागि रुम टु रिडको सहयोगमा बाल पुस्तकालय शाखाको व्यवस्था गरिएको छ । जहाँ बालबालिकाहरुले बाल साहित्यका पुस्तक, पत्रिका तथा शैक्षिक सामग्रीहरुको निःशुल्क अध्ययत तथा त्यहाँ उलब्ध खेलौना एवम् श्रव्यदृश्यहरु निःशुल्क रुपमा प्रयोग गन सक्नेछन् ।

सङ्ग्रहालय

डा. डिल्लीरमण रेग्मीले आफ्नो जीवनकालमा सङ्कलन गर्नुभएका पुरातात्विक वस्तुहरु, जस्तैः ढुङ्गा र धातुका देवी–देवताका मूर्तिहरु, देशविदेशका विभिन्न सामग्रीहरु यस सङ्ग्रहालयमा राखिएको छ । पुस्तकालय भवन परिसरमा पनि विभिन्न देवीदेवताका मूर्तिहरु, बौद्धस्तुपका साथै स्तुप भित्र डा. रेग्मीको अस्थिधातु समेत राखिएको छ ।

फोटोग्राफी (तस्बिर प्रदर्शनी)

पुस्तकालय भवनको माथिल्लो तलामा छुट्टै तस्बिर प्रदर्शनी कक्ष रहेको छ । यस खण्डमा भारतका महात्मा गान्धी विभिन्न अवसरहरूमा विभिन्न व्यक्तित्वहरूसँग देखिएका तस्बिरहरू प्रदर्शन गरिएका छन् । त्यसैगरी, भारतीय राष्ट्रिय आन्दोलनका विभिन्न पक्ष झल्काउने तस्बिरहरू पनि यहाँ राखिएका छन् । महात्मा गान्धी तथा रवीन्द्रनाथ टेगेरले लेखेका पत्रहरू फ्रेममा सजाइएका छन्, जुन यस प्रदर्शनीको विशेष आकर्षण हो ।

पुस्तकालयले गरेका केही महत्वपूर्ण कार्यक्रमहरू

डा.डिल्लीरमण रेग्मी शान्ति पुरस्कार

डा. डिल्लीरमण रेग्मीको इच्छा बमोजिम नेपालको विकास एवम् शान्तिमा उल्लेखनीय योगदान पुर्याउने स्वदेशी एवम् विदेशी नागरिक तथा संस्थालाई सम्मान गर्ने उद्देश्यले यस पुस्तकालय विकास समितिद्वारा वि.सं. २०६३ सालदेखि डा. डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार स्थापना गरी वितरण गर्दै आएको छ ।

डा. डिल्लीरमण रेग्मी अन्तर्राष्ट्रिय शान्ति पुरस्कार

नेपालको विकास एवम् शान्तिमा महत्वपूर्ण योगदान पुर्याउने अन्तर्राष्ट्रिय व्यक्तित्वलाई “अभिनन्दन पत्र”को साथै मायाको चिनोबाट सम्मान गर्ने गरिएको छ ।

हालसम्म अन्तर्राष्ट्रिय पुरस्कार पाउने व्यक्तित्वहरूः

  • दशिण अफ्रिकाका पूर्वराष्ट्रपति नेल्सन मन्डेला, २००६
  • भारतका महान नेता महात्मा गान्धी, २००७
  • अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टर, २००८
  • स्वीस नागरिक टोनी हेगन, २००९
  • संयुक्त राष्ट्र संघका महासचिव बान की मुन, २०११
  • बर्माकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी, २०१३
  • रुम टु रिडका संस्थापक अध्यक्ष अमेरिकी नागरिक जोन उड्, २०१५
  • युनेस्को, २०१७
  • डा. एन्टोनिया न्यूवर, संस्थापक, रिड नेपाल, २०१९
  • पवन चामलिङ, पूर्व मुख्य मन्त्री, सिक्किम भारत, २०२१
  • Japan International Cooperation Agency–JICA, @)@#
  • Korea International Cooperation Agency–KOICA, @)@%

 

डा. डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कारः

नेपालको विकास एवम् शान्तिका पुर्याएको महत्वपूर्ण योगदानलाई कदर गर्दै रु. १ लाख नगदसहित “अभिनन्दन पत्र”बाट सम्मानित गर्ने गरिएको छ ।

हालसम्म राष्ट्रिय पुरस्कार पाउने व्यक्तित्वहरूः

  • ज्युँदा शहीद रामहरि शर्मा, २०६४
  • पूर्वप्रधानमन्त्री पुष्पकमाल दाहाल,२०६५
  • पण्डित दीनबन्धु पोखरेल र विश्वसाइकल यात्री पुष्कर शाह (संयुत्त), २०६६
  • पूर्वप्रधानमन्त्रीद्धय गिरिजाप्रसाद कोइराला (मरणोपरान्त) र माधवकुमार नेपाल (संयुक्त), २०६८
  • संस्कृतिविद् सत्यमोहन जोशी,२०७०
  • इतिहासविद प्रा.डा. तुलसीराम वैद्म, २०७२
  • संस्कृति तथा पुरातत्वविद् हरीराम जोशी, २०७४
  • राष्ट्रिय आविष्कार केन्द्र, २०७६
  • डा. अनोजा गुरुमा, २०७८
  • भैरव रिसाल, २०८०
  • डा. रामप्रसाद पोखरेल र डा. गौरीशंकर लाल दास (संयुक्त), २०८२

यो शान्ति पुरस्कार २०६६ सालदेखि २०६८ सालसम्म प्रत्येक वर्ष दिइएको थियो भने २०६८ सालदेखि प्रत्येक २ वर्षमा दिन थालिएको छ ।

युवा छात्रवृत्ति पुरस्कार

नेपालमा शान्ति स्थापनाका निम्ति समसामयिक विषयमा अध्ययन अनुसन्धान गर्ने युवालाई सम्मान गर्ने उद्देश्यले सन् २००७ देखि डा. डिल्लीरमण रेग्मी युवा छात्रवृत्ति पुरस्कार स्थापना गरी प्रत्येक वर्ष वितरण गर्ने गरिएकोमा सन् २०१५ देखि डा.रेग्मीको योगदानलगायत पुस्तकालय क्षेत्रमा समसामयिक विषयमा राष्ट्रियस्तरको निबन्ध प्रतियोगिता र अन्य विविध कार्यक्रमहरुको आयोजना गरी पुरस्कृत गर्ने गरिएको छ । 

पुस्तकालय परिसर

डा. डिल्लीरमण रेग्मीको आफ्नै निवासमा रहेका चारवटा भवनमा पुस्तकालय, सङ्ग्रहालय, आधुनिक सभाकक्ष एवम् कार्यालय रहेका छन् । साथै, विभिन्न देवीदेवताका मूर्तिले सुशोभित बगैंचा, रुखहरु विविध प्रजातिका फूलका बोट सहित सुन्दर, शान्त वातावरणमा बच्चाहरु खेल्न, पढ्नेदेखि वयस्क पाठकहरुलाई अध्ययन र अनुसन्धान गर्ने थलोको रुपमा रहेको छ । पुस्तकालयमा १ सय २५ र ५० जना अट्ने दुई वटा सुविधासम्पन्न हल रहेका छन् ।  वि.सं. २०७२ सालको भूकम्पपछि पुस्तकालयको मूल भवनमा आंशिक क्षति भएकाले नयाँ भवन निर्माणका लागि गुरुयोजना तयार भएको छ । 

डा.डिल्लीरमण रेग्मीले लेख्नुभएका केही महत्वपूर्ण कृतिहरुः

Regmi, D. R. (1952). Whither Nepal.

Regmi, D. R. (1958). A century of family autocracy in Nepal. Nepali National Congress.

Regmi, D. R. (1960). Ancient Nepal. Firma K.L. Mukhopadhyay.

Regmi, D. R. (1965). Medieval Nepal: Early medieval period 750–1530 A.D. Firma K.L. Mukhopadhyay.

Regmi, D. R. (1966a). Medieval Nepal: A history of the three kingdoms 1520 A.D. to 1768 A.D. Firma K.L. Mukhopadhyay.

Regmi, D. R. (1966b). Medieval Nepal (Part 4). Author.

Regmi, D. R. (1966c). Medieval Nepal: Source materials for the history and culture of Nepal 740–1768 A.D. Firma K.L. Mukhopadhyay.

Regmi, D. R. (1975). Modern Nepal: Rise and growth in the eighteenth century. Firma K.L. Mukhopadhyay.

Regmi, D. R. (1983). Inscriptions of ancient Nepal (Parts 1–3). Firma K.L. Mukhopadhyay.